मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाख ६८ हजारले बढ्यो, २ खर्ब ७ अर्बको कारोबार

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३ लाख ६८ हजारले बढ्यो, २ खर्ब ७ अर्बको कारोबार


बैंकिङ्ग समाचार,काठमाडौं ।

अघिल्लो महिना करिब ५ लाख हाराहारीमा घटेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या पुनः बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो फागुनको तुलनामा चैत महिनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको सङ्ख्या ३ लाख ६८ हजार ७६४ ले बढेको हो ।

गुन मसान्तसम्म यस्तो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या २ करोड ६५ हजार २६७ रहेको थियो । तर, चैतमसान्तसम्म आइपुग्दा यस्तो सङ्ख्या बढेर २ करोड ४ लाख ३४ हजार ३१ पुगेको छ । 

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ७ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी (ट्रान्जेक्सन) भएको छ । अघिल्लो महिना फागुनमा यस्तो ट्रान्जेक्सन १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयँ हारहारी भएको थियो । 

यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको सङ्ख्या १७ लाख ९८ हजार ८६६ पुगेको छ भने यस्तो प्रयोगकर्ताहरुबाट चैतमा १३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो महिना इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

समीक्षा अवधिमा डेबिट÷क्रेडिट कार्डमार्फत क्रमशः ८६ अर्ब ४५ करोड १० लाख र १५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ भने भुक्तानीको साधन कनेक्ट–आइपीएस मार्फत ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।