यो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै, ५३ खर्ब ८१ अर्ब पुग्‍यो अर्थतन्त्रको आकार 

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने देखिएको छ ।  सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।  उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । 

अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्‍यो 

नेपालको आर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको छ। जसमध्ये सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको योगदान २४.१६ प्रतिशत छ।  चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २.६९ प्रतिशत थियो। यस क्षेत्र अन्तर्गत कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्रहरू पर्छन्।

चालु आर्थिक वर्षमा धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको तथ्यांक विभागले जनाएको छ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रले १२.९ प्रतिशत योगदान दिने अनुमान छ। यस क्षेत्र अन्तर्गत उद्योग, विद्युत तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छन्।

उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आर्थिक वर्षको तुलनामा कमी आएको उल्लेख छ।  चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले ६२।४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ।