नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं ठगी, इन्द्रजित राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी 

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पार्ईएपछि  पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले निरज नेपालमै नरहेको जानकारी दिएको छ । यद्यपी निरजका बुवा इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरिसकेको छ । 

इन्द्रजित राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार थिए । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक(पटक गरी ५ करोड रकम लिएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । प्रहरीका अनुसार दुलाल र भण्डारीको पूर्वगृहमन्त्री बादलका सल्लाहकार राईसँग सम्बन्ध थियो ।

\"\"

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको प्रहरी अधिकारीहरु नै बताउँछन । 

प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन ।

अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो । अधिकृतहरुका अनुसार त्यसबेला गिरोहले तत्कालीन गृहसचिव प्रेमकुमार राई, पछि महेश्वर न्यौपाने लगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम असुली गरेको थियो ।