बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को लिलामी शेयरमा आवेदन दिने आज सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि वितरण नभएको संस्थापकतर्फको शेयर माघ २२ गते देखि संस्थापकतर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो ।
ईच्छुक आवेदकले आज बैकिङ्ग समय सम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित शेयर पुनः विक्रीमा ल्याएको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको शेयर अन्य संस्थापक उपसमूहमा रहने कम्पनीको भनाइ छ । कम्पनीको संस्थापकतर्फको शेयर सर्वसाधारण शेयरकै मूल्यमा खरीदविक्री गर्न मिल्ने कम्पनीले जनाएको छ ।
प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको उल्लेखित शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्यरूपमा आफ्नो प्यान नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।
शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया