भूगोल इनर्जिको आईपीओमा स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाले आजदेखि आवेदन दिन पाउने

भूगोल इनर्जिको आईपीओमा स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाले आजदेखि आवेदन दिन पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २५ गते र पर्याप्त आवेदन नभपरेमा भने ढिलोमा चैत ७ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैंक तथा वित्तीय संस्थाहरुको सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट स-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।