बैंकिङ्ग समाचार, काठमाडौं ।
दोल्ती पावर कम्पनी लिमिटेडले आज फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.पा.मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर सुरक्षित गरिएको छ ।
यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ विक्री बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गतेसम्म हुनेछ । त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया