बैंकिङ्ग समाचार, काठमाडौं ।
आज फागुन ८ गते, सोमबार तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज स्वावलम्बन लघुवित्त वित्तीय संस्था, ङादी ग्रूप पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी तीन ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुकक्लोज गर्दैछन् । फागुन ९ गते ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकाले फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते शुक्रबार, लैनचौर ब्यान्क्वेट, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले संस्थापक तथा सर्वसाधारणसमूहको शेयर संरचना परिवर्तन गरी ६०ः४० कायम गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते आफ्नो प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरधनी तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
ङादी ग्रुप पावरले भने फागुन २५ गते, युनियन हाउस, अनामनगरमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रिया