बैंकिङ्ग समाचार, काठमाडौं ।
सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अर्थात् बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई विक्री गरिसकेको छ ।
त्यस्तै ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई समेत बाँडफाँट गरिसकेको कम्पनीले २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया