इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न


काठमाडौं – संस्थागत सामाजिक उत्तरदायित्व क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा ‘जी’ फाउन्डेसनको सहकार्यमा इन्डो नेपाल सिएसआर समिट काठमाडौँमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका उप सभामुखले नेपालमा सिएसआरका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यती धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीहरुले यसलाई ध्यान दिन नसकिरहेको बताइन् । उनले सिएसआरका कार्यक्रमहरुले ठूलो प्रभाव पार्ने र धेरै नेपाली समाजहरु लाभान्वित हुनसक्ने बताए ।

उनले भने, ‘हामीले सिएसआरको पोलिसी बनाउन बहसहरु गरिरहेका छौँ । यसमा कर्पोरेट कमुनिटिजहरुले पनि बहस गर्न जरुरी छ । सिएसआर भनेको पैसा मात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो ।’ यस्तै, कार्यक्रमका विशिष्ट बक्ता नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्टीजका उपाध्यक्ष एवंम सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सिएसआर जस्तो महत्वपूर्ण छलफल भएको पाउँदा खुशी भएको व्यक्त गरे ।

उनले भने, ‘सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटहरुले सिएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको छ ।’ कार्यक्रममा विफक्याप नेपालका सिइओ मनोज रेग्मीले सिएसआर समिटबाट प्राप्त रकमले पूर्व नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका उद्यमीहरुलाई वित्तीय साक्षरता दिइरहेको बताए ।

यस्तै, कार्यक्रमका सत्रहरुमा इन्डीयाका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले सिएसआरका मोडालीटीहरु प्रभावकारी बनाउनुपर्छ त्यसपछि बल्ल समाजमा उल्लेखीय समाजसेवाका कार्यक्रमहरु स्थापना गर्न सकिने जानकारी दिए । कार्यक्रममा नेपालका प्रतिष्ठित सांसदहरु, मन्त्रालयका उच्च पदस्थ व्यक्तित्वहरु भारत र नेपालका बरिष्ठ सिएसआर विशेषज्ञहरु तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।

साथसाथै, विफक्याप नेपालले विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु एवंम वित्तीय साक्षरताका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक सांसदहरुमाझ वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रुपमा पनि बिफक्याप नेपाल परिचित छ ।