रैथाने बालीहरूको बजारीकरणमा एसटीसीको महत्त्वपूर्ण योगदान छः मन्त्री भण्डारी


काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरूको बजारीकरण गर्न  साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अत्यावश्यक बस्तुको व्यापार र आपूर्तिमा एसटिसीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए । यसैगरी दशैं तिहार जस्ता चाडपर्वमा  कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपूर्ति शृङ्खलालाई थप व्यवस्थित गराएको उनको भनाइ छ । यसले मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए । गत दशैंमा एसटीसीले चिनीको आपूर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ ।

‘आपूर्ति शृङ्खला व्यवस्थित गर्न यो संस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिरहेका छौँ । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण व्यावसायिक संस्थाको रूपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपूर्ति शृङ्खलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौँ ।’