आइएफसीकाे नेपालको आवासीय प्रतिनिधिमा रत्निजा अरन्दारा


काठमाडाैं- विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त गरेको छ । आइएफसीले काठमाडौांस्थित कार्यालयमा कार्यरत अरन्डारा आवासीय प्रतिनिधिमा नियुक्त गरेको हो। काठमाडौंमा आधारित रहेर उनले आईएफसीको लगानी विस्तार, नयाँ लगानी तथा अवसरको विकास, र संस्थाको प्रभावकारिता वृद्धि गर्न नेतृत्व दिने संस्थाले जनाएको छ।

श्रीलंकाली नागरिक अरन्दारा सन् २०११ देखि आईएफसीसँग आबद्ध रहँदै आएकी छन्। उनले विश्व बैंक समूहभित्र विभिन्न भूमिकामा कार्य गर्दै व्यापक अनुभव प्राप्त गरेकी छन्। उनी दक्षिण एशियाका लागि आईएफसीको देशीय सल्लाह तथा अर्थशास्त्र टोलीमा कार्यरत थिइन्। उनले वित्तीय पहुँच विस्तार, कृषि व्यवसाय सुदृढीकरण र लगानी वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

अरन्दाराले आईएफसीमा आबद्ध हुनु अघि पिडब्लुसी इन्डोनेसियामा काम गरेकी छन्। श्रीलंकामा उनी नेशनल डेभलपमेन्ट बैंकमा लगानी अधिकृतको रूपमा कार्यरत थिइन्। पछिल्ला पाँच वर्षमा आईएफसीले नेपालको स्वच्छ ऊर्जा, इक्विटी, वित्तीय तथा आतिथ्य क्षेत्रमा करिब ७० करोड अमेरिकी डलरको लगानी संलग्नता सहित प्रतिबद्धता जनाएको छ।