शेयर निष्कासनको तयारीमा मुक्तिनाथ फुड बैंक, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल


काठमाडाैं – मुक्तिनाथ फुड बैंक लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन (IPO) गर्ने प्रक्रियामा प्रवेश गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ। दुवै कम्पनीबीच हालै सम्पन्न दुई पक्षीय सम्झौता अनुसार मुक्तिनाथ क्यापिटलले आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ।

उक्त सम्झौतामा मुक्तिनाथ फुड बैंकका सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्। परामर्श सेवामा कम्पनी दर्तादेखि शेयर निष्कासनसम्मको सम्पूर्ण प्रक्रिया समेटिनेछ।

कम्पनीले २०८२ सालको वैशाख १७ गते आयोजना हुने विशेष साधारण सभामार्फत हकप्रद शेयर पारित गर्दै चालू आर्थिक वर्ष २०८१/८२ भित्रमा ४० करोड रुपैयाँ बराबरको चुक्ता पूँजी पुर्याउने जनाएको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने लक्ष्य लिएको पनि जानकारी दिएको छ।

२०७९ सालमा स्थापित मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी हो। यो कम्पनीले कृषि मूल्य श्रृंखला विकास अन्तर्गत खाद्यान्न उत्पादन, संकलन, प्रशोधन र बजारीकरणमा काम गर्दै आइरहेको छ। कम्पनीले नेपाली उपभोक्तालाई स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित गुणस्तरीय, नेपालमै उत्पादित खाद्य वस्तु सहज र सुलभ रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ। यसले उपभोक्ता हित संरक्षणका साथै कृषकहरूको उत्पादनलाई सुनिश्चित बजार प्रदान गर्ने उद्देश्य राखेको छ।