गण्डकी- गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षाका क्रममा मन्त्री केसीले परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई पहिचान गरी तिनीहरूलाई सम्पर्क गरेर निर्माण कार्य सुरु गराउन निर्देशन दिएका हुन्।
उनले रोकिएका बहुवर्षीय योजना अब थप बहानाबाजी र ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन्। मन्त्रालयले यसअघि नै निर्माण व्यवसायीहरूलाई परिपत्रमार्फत कार्यसुरूको निर्देशन दिइसकेको तर अझै पनि केही योजनाहरू अलपत्र अवस्थामा रहेको भन्दै मन्त्री केसीले अब लिखित रूपमा कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन्।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्मको प्रगति भौतिकतर्फ ४५ प्रतिशत र वित्तीयतर्फ ३१.१५ प्रतिशत मात्र रहेको छ। मन्त्री केसीले यस्तो सुस्त गतिलाई सुधार गर्दै वार्षिक समीक्षा गोष्ठी आउँदासम्म कम्तीमा ८० प्रतिशत प्रगति पुग्ने गरी काम गर्न निर्देशन दिए।
उनले चालु आवको विकास योजनालाई तोकिएको समयमा सम्पन्न गर्न विशेष जोड दिएका छन्। अझै ठेक्का प्रक्रिया बाँकी रहेका योजनाहरूमा चैत मसान्तभित्र ठेक्का सम्झौता गरिसक्न निर्देशन दिँदै उनले समयसीमा र जिम्मेवारीको कडाइपूर्वक पालना गरिनुपर्ने बताएका छन्।
मन्त्री केसीले अब सरकार गम्भीर रहेको भन्दै ढिलाइ गर्ने, काम नगर्ने र बहाना बनाउने व्यवसायीलाई नछोडिने संकेत दिएका छन्। यो कदमले प्रदेशको भौतिक पूर्वाधार निर्माण कार्यमा गति ल्याउने अपेक्षा गरिएको छ।



About Us
प्रतिक्रिया