काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणमा बिचौलियाले अध्यक्ष चुनेको आरोप लगाएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै झाले बिचौलियाको इसारामा सरकारले ती निकायमा अध्यक्ष चुनेको बताएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘अब नेपाल राष्ट्र बैंकको गभर्नरको पदमा समेत यस्तै हुँदैछ । योग्यता र अनुभव हेरेर होइन, सरकारले बिचौलियाले पठाउने नाम र पैसाका आधारमा व्यक्ती चुन्छ ।’ झाका अनुसार सरकारले बिचौलियाबाट आउने गभर्नरको सिफारिस र पैसा कुरेर बसेको छ ।
झाले लगाएको आरोपजस्तै पछिल्लो समय प्रत्येक संस्थामा विभिन्न बिचौलियाको नाम जोडिन थालेको छ । नेपाल धितोपत्र बोर्डमा दिपक भट्ट समूहले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउन चाहेको बताइएको थियो । जबकी, तत्कालिन सत्ताधारी दल नेकपा माओवादीले चिरञ्जिवी चापागाँईलाई अध्यक्ष बनाउने योजना अघि सारेको थियो ।
तर, बोर्डमा भट्टले भनेको व्यक्तीले नियुक्ती नपाउने भएपछि सरकार ढलेको आरोप माओवादीको छ । नेकपा एमाले नेतृत्वको सरकार बनेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले उनै श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेपछि सो आरोपमा झनै बल पुगेको थियो । यस्तै, नेपाल बीमा प्राधिकरणमा समेत भट्ट समूहले पूर्व पत्रकार ओझालाई साथ दिएको र उनैको आडमा नियुक्ती खाएको बताइन्छ ।
यसैगरी, राष्ट्र बैंकको गभर्नरका लागि समेत भट्ट समूहले ३÷४ जना व्यक्तीको सूची तयार पारेको बताइन्छ । भट्ट समूहले यसपटक जसरी पनि राष्ट्र बैंकमा आफू निकट व्यक्ती नियुक्त गर्ने योजना बनाएको छ । यसका लागि फरक–फरक पृष्ठभूमि र ‘ब्याकग्राउन्ड’ भएका ‘मल्टिपल’ व्यक्तीलाई साथ लिएको बताइन्छ ।
प्रतिक्रिया