राष्ट्र बैंकको नजरमा पछिल्लो ७ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)


काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स ९ खर्ब ५८ करोड पुगेको बताएको हो ।

केन्द्रीय बैंकका अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

यस्तै, विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ पुगेको छ । मुद्रा सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

यस्तै, सो अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ ।