मूल्यवृद्धि घटेकाे राष्ट्र बैंकको दाबी, कुन क्षेत्रमा कति ?


काठमाडौं – चालू आर्थिक वर्षको ७ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो सात महिना (साउन–माघ) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आधारित तथ्यांकअनुसार मूल्यवृद्धि घटेकाे देखिएकाे हाे । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३।९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ । २०८१ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको केन्द्रीय बैंकले उल्लेख छ ।