काठमाडौं – नेपाल राष्ट्र बैंकले फागुनको पहिलो साता अर्थात भोलि मौद्रिक नीतिको समिक्षा सार्वजनिक नगर्ने भएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार पहिलो साताको शुक्रबार मौद्रिक नीतिको समिक्षा नहुने भएको हो ।
‘बैंकिङ्गसँग सम्बन्धीत पूर्व निर्धारित अन्तर्राष्ट्रिय कार्यक्रम पनि छन्,’ उच्च अधिकारीले बैंकिङ्ग समाचारसँग भने, ‘फागुनको पहिलो साताको शुक्रबार अर्थात भोलि समिक्षाको सम्भावना न्यून छ ।’
यसबाहेक, राष्ट्र बैंकको सञ्चालक समितिको बैठकका कारणले समेत मौद्रिक नीति समिक्षा ढिलाई हुने उनको भनाई छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकमा अर्थ सचिव गभर्नरपछि हुन्छन् । अर्थसचिवमा अख्तियार अनुसन्धानको कार्यालयबाट सरुवा भएर घनश्याम ओझा आएका छन् ।
यहीकारण, नयाँ सचिव आउँदा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा ढिलाइ हुँदा मौद्रिक नीति समिक्षा पारित गर्न समेत ढिला भएको बताइएको छ । यसबाहेक, पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन भरिएको बेलुन पड्कदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते छन् ।
उनको ‘ग्रीन सिग्नल’बिना समेत मौद्रिक नीतिको समिक्षा अघि बढाउने पक्षमा केन्द्रीय बैंक छैन । किनकी, अर्थमन्त्री पौडेल र गभर्नरको राजनीतिक ‘लाइन’ मिल्छ । गभर्नरको पदावधि सकिएपछि यस्तै नियुक्तीको अपेक्षा अधिकारीले गरिरहेका छन् ।
‘यहीकारण, गभर्नर आफ्नो कार्यकालको अन्त्यतर्फ नेकपा एमालेलाई चिढ्याउने पक्षमा छैनन्,’ स्रोतले भन्यो, ‘यसैले यो शुक्रबार समिक्षा आउँदैन । दोस्रो साताको शुक्रबार आउँछ ।’



About Us
प्रतिक्रिया