५ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्दै एनआईसी एशिया बैंक


काठमाडौं – एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको हो ।

बैंकले २७ औँ वार्षिक साधारणसभा मार्फत् अग्राधिकार शेयर प्रस्ताव पारित गर्ने भएको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेछ ।