काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्स कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।
केन्द्रीय बैंकले कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १० करोड ९५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २९ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
यद्यपि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीहरूले तोकिएको सर्त पुरा गरेको हुनुपर्नेछ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।



About Us
प्रतिक्रिया