काठमाडौं – पछिल्लो केही दिनयता बैंक तथा वित्तीय संस्थाहरु डुब्न लागेका लगायतका अफवाह सामाजिक सञ्जाल लगायतका माध्यममा फैलिएसँगै बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध चारवटै छाता संगठनहरूले आपत्ति जनाएका छन् । शुक्रबार वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स (एनबीए), विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दे पछिल्ला अफवाहप्रति आपत्ति जनाएका हुन् ।
बैंंकिङ्ग क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रूपमा स्थापित भएको र नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको विषय विज्ञप्तिमा उल्लेख छ । यस्तै, संगठनहरूले सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना/समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिन अनुरोध गरेका छन् ।
सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरूलाई छाता संगठनले आग्रह गरेका छन् । सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।



About Us
प्रतिक्रिया