काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ । बैंकले २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी (मुद्दती निक्षेप) मा राख्ने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई उचित ब्याजदरसहित चाहेको रकम माग गरी दरखास्त हाल्न आह्वान गरेको छ । फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८१ माघ २८ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सूचना अनुसार कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।
यद्यपि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीहरूले तोकिएको सर्त पुरा गरेको हुनुपर्नेछ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।



About Us
प्रतिक्रिया