केन्द्रीय बैंकद्वारा ६ महिनामा १४० खर्ब तरलता प्रशोचन


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को पछिल्लो ६ महिना अर्थात् पुस मसान्तसम्ममा मात्रै १४० खर्ब ८० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा निक्षेप संकलन बोलकबोलमार्फत १४ खर्ब ८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२५ खर्ब १४ अर्ब १५ करोड गरी कुल १४ हजार अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।

साथै, यसअवधिमा ८० करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक-पटक गरी खुद १ खर्ब ९९ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९० करोड बिक्री गरी २ खर्ब ५६ अर्ब ५३ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी २ खर्ब ४२ अर्ब ८ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।