मोबाइल बैंकिङ्गमा बढ्दो आकर्षण, पुषमा मात्र ३ लाखले बढे प्रयोगकर्ता


काठमाडौं – चालु आर्थिक वर्षको पुष महिनासम्म माेबाइल बैंकिङ्ग प्रयाेगकर्तकाे संख्या २ कराेड ६३ लाख ३६ हजार १ सय १७ रहेकाे छ । अघिल्लाे महिनामा मंसिरमा २ कराेड ६० लाख ३४ हजार ३ सय ५४ रहेकाे थियाे । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुषमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या ३ लाख बढीले बढेकाे हाे ।

गत पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १ सय ८० रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या याे पुष मसान्तसम्म बढेर २ कराेड ६३ लाख ३६ हजार १ सय १७ पुगेकाे हाे । गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढ्दा वालेट प्रयोगकर्ताको भने घटेकाे छ । मंसिरकाे तुलनामा पुषमा वालेट प्रयोगकर्ताको संख्या ८१ हजारकाे हाराहारीमा घटेकाे हो । गत मंसिरमा २ कराेड ५६ लाख ६२ हजार रहेकाे वालेट प्रयाेगकर्ताकाे संख्या पुषमा २ कराेड ५५ लाख ८० हजारमा सीमित भएकाे छ ।

गत वर्षकाे पुषमा २० लाख ८८ हजार ८ सय ३१ रहेकाे इन्टरनेट बैंकिङ्ग प्रयाेगकर्ताकाे संख्या चालु आवमा २१ लाख ८८ हजार ३ सय ८४ पुगेकाे छ । पुषसम्म मोबाइल बैंकिङ्गबाट ३ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ बराबरको काराेबार भएको छ। वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँ भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।