पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो, कुन महिना कति ?

'३ लाख बढीले नयाँ र पुनः श्रम स्वीकृति लिए'


काठमाडौं – पछिल्लो २४ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ। हाम्रो देश यतिबेला रेमिट्यान्सले चलिरहेको छ भन्ने यथार्थलाई नकार्न  सकिँदैन । यही क्रमले निरन्तरता पाउँदै चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहको तुलनामा ४.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वृद्धिदर भने २४.२ प्रतिशत रहेको थियो।

यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

कुन महिनमा कति भित्रियाे रेमिट्यान्स ?

साउन १ खर्ब ३६ अर्ब रुपैयाँ

भदाैं – १ खर्ब २६ अर्ब रुपैयाँ

असाेज – १ खर्ब ४४ अर्ब रुपैयाँ

कात्तिक– १ खर्ब १४ अर्ब रूपैयाँ

मंसिर– १ एक खर्ब १८ अर्ब रूपैयाँ

यो पाँच महिनामा तीन अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्सको रूपमा बाहिरिएको छ। पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षकाे यही अवधिमा दुई लाख ७४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको सङ्ख्या तीन लाख २५ हजार बढी छन्।