चालू वर्षकाे ६ महिना

वस्तु आयात बाहिरियाे ८ खर्ब २२ अर्ब, २ खर्ब २४ अर्ब राजश्व संकलन

वस्तु आयात बाहिरियाे ८ खर्ब २२ अर्ब, २ खर्ब २४ अर्ब राजश्व संकलन


काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको छ । यससँगै विगत लामो समयदेखि घट्दो स्थितीमा रहेको वैदेशिक व्यापार समेत बढ्न थालेको छ । यो गत आर्थिक वर्षको तुलनामा ७.०६ प्रतिशतले आयात वृद्धि हो ।

गत आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस्तै, चालू वर्षको ६ महिनाको अवधिमा नेपालको वस्तु निर्यात समेत वृद्धि भएको छ ।

तथ्यांकअनुसार यस अवधिमा निर्यात ३१.७८ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालबाट ९८ करोड ७८ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको यही अवधिमा ७४ करोड ९६ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

नेपालको आयात र निर्यात बढेसँगै सुस्ताएको अर्थतन्त्र चलायमान बन्न थालेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ देखि नेपालको आयात र निर्यात वृद्धिमा रोक लागेको थियो । सो आर्थिक वर्षमा नेपाल सरकार र राष्ट्र बैंकले आ-आफ्नैतवरबाट आयात प्रतिबन्ध गरेका थिए ।

कोभिड–१९ महामारीको समयमा आयात रोकिँदा मानिसहरुले वस्तु किन्नेक्रम ह्वात्तै बढाउँदा २०७७/७८ मा आयात उल्लेख्य बढेपछि सरकारले रोक लगाउनुपरेको थियो । यस्तै, छिमेकी मुलुक श्रीलंकामा विदेशी मुद्राको भण्डारण रित्तिएपछि नेपाल सरकार समेत आत्तिएको थियो ।

नेपालमा पनि विदेशी मुद्राको भण्डारण ७ महिनाको आयात धान्न सक्ने स्थितीमा आएपछि राष्ट्र बैंकदेखि सरकारसम्म नै डराएका थिए । यस्तै, सरोकारवालाहरुले समेत सरकारी पक्षलाई तारान्तार विदेशी मुद्राको भण्डारण रित्तिने चेतावनी दिइरहेका थिए । सोहीकारण, एचएस कोड नै उल्लेख गरे आयात प्रतिबन्ध गरिएको थियो ।

सो समयदेखि घट्न थालेको आयात निरन्तर घट्दै आइरहेको थियो । २०७७/७८ मा अहिलेसम्मकै उच्च १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको आयात भएयता चालू वर्षमा आयात वृद्धि हुन थालेको हो । आयात र निर्यात खुम्चिँदा सरकारलाई राजश्वको लक्ष्य आसपास पुग्न समेत समस्या परिरहेको थियो ।

आयात वृद्धिसँगै २ खर्ब २४ ३४ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ । आयात बढ्न थालेसँगै बढेको राजश्व संकलनले अर्थमन्त्रालयलाई सहज हुन थालेको छ । यससँगै, राजश्व लक्ष्य नभेटिएपनि लक्ष्यको आसपास पुग्न भने सहज हुने मन्त्रालयको अपेक्षा छ ।