काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्यान्डस्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ । प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्शका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेकाे थियो ।
सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी रहेका छन् ।
थाई चेम्बर अफ कर्मशको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधिमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो ।
यस्तै, नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरी नेपालमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेको थियो ।
नेपाली व्यवसायीहरूलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताएका थिए । सो अवसरमा थाइल्यान्डस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया