निर्माण व्यवसायीको बक्याैता सकिएकाे अर्थमन्त्रीको दाबी, कोरोना बीमाको कहिले आउँछ ?

निर्माण व्यवसायीको बक्याैता सकिएकाे अर्थमन्त्रीको दाबी, कोरोना बीमाको कहिले आउँछ ?


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको सरकारकाे नाममा रहेकाे सम्पूर्ण बक्याैता रकम चुक्ता भएकाे बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पाैडेलले निर्माण व्यवसायीलाई सरकारले तिर्नुपर्ने बक्यौता रकम चुक्ता भएकाे दाबी गरेका हुन् ।

उनले सरकारको नाममा रहेको गत आर्थिक वर्षदेखिको भुक्तानीको दायित्व सकिएको दाबी गरे । निर्माण व्यवसायीहरुले विगत लामो समयदेखि सरकारबाट ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आइरहेका छन् ।

यहीक्रममा अर्थमन्त्री पौडेलले भने निर्माण व्यसायीको सबै बक्यौता चुक्ता भएको दाबी गरेका हुन् । उनले भने, ‘सरकारले अनेकौं प्रबन्ध गर्नुका साथै कसरत गरेर भुक्तानी दायित्व पुरा गर्याे । राज्यले तिर्न सक्दिन वा ढिलो तिर्छु भन्न पाउँदैन । यसआधारमा आधारभूतरुपमा भुक्तानीको दायित्व सकिएको छ ।’

‘अब निर्माण व्यवसायीले विधिसम्मत बिल पेस गरेको छ भने त्यसकाे भुक्तानी राेकिँदैन,’ अर्थमन्त्री पौडेलले थपे, ‘भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने स्थिती छैन ।’ तर, अर्थमन्त्री पौडेलले कोरोना बीमाको ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानीको विषयबारे भने केही बताएनन् ।

२०७६ सालको अन्त्यदेखि नेपालमा सुरु भएको कोरोनाको बीमा नेपाल बीमा प्राधिकरणले सुरु गरेको थियो । सुरुमा विकराल स्थितीबारे आँकलन नै नगरी अघि बढाइएको बीमाबाट प्राधिकरण र बीमा कम्पनीहरुले हात झिक्ने निर्णयमा पुगेपनि सरकारबाट आश्वासन पाएपछि निरन्तरता दिएका थिए ।

सरकारको नाममा आएको ११ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी अझै अघि बढेको छैन । सरकारको नाममा रहेको सबै बक्यौता चुक्ता भएको दाबी गरेका अर्थमन्त्री पौडेल यसबारे भने बोलेनन् ।