काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक डुब्न नदिने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले नेपालका वाणिज्य बैंक डुब्न नदिने बताएका हुन् ।
पछिल्लो समय बैंक डुब्दै छन् भन्ने खालका हल्ला फैलिइरहेको छ । यस्तै, बैंक डुबेपछि अर्थतन्त्र समेत डुब्ने भनाई आइरहेका छन् । तर, यी नकारात्मक प्रचार भएकाले हल्लाकोपछि नलाग्न अर्थमन्त्री पौडेलको आग्रह छ ।
यस्तै, पछिल्लो समय अर्थतन्त्र चलायमान बन्न थालेको बताए अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बन्दै जाँदा बैंकबाट ऋण प्रवाह बढ्दै गइरहेको बताएका हुन् ।
‘विगत लामो समयदेखि बैंकहरुमा तरलता बढ्दो स्थितिमा थियो,’ उनले भने, ‘पछिल्लो समय बैंकको कर्जा लगानी बढ्न थालेको छ ।’ यस्तै अर्थमन्त्रालयको जोड नै कर्जा बढेर रोजगारी सृजना र उत्पादन तथा उत्पादकत्व बढ्ने क्षेत्रमा लगानी बढोस् भन्ने रहेको अर्थमन्त्रीको भनाई छ ।
यसबाहेक, बैंक डुब्दै छन् भन्ने खालका नकारात्मक टिप्पणी बढ्दै गइरहेको अर्थमन्त्री पौडेलले बताए । ‘यो नकारात्मक प्रचार हो । यसका लागि केही व्यक्ती छन्,’ अर्थमन्त्रीले भने, ‘यस खालको प्रचारबाट तपाईँ हामी जोगिनुपर्छ ।’ ‘न, बैंक डुबेको छ । न अर्थतन्त्र डुबेको छ,’ उनले थपे, ‘अर्थतन्त्र र बैंक डुब्न दिँदैनौँ ।’
तथ्यले अर्थतन्त्र सुधारिँदो अवस्थामा देखाएको छ । यस्तो अवस्थामा अर्थतन्त्र र बैंक डुब्दैछन् भन्ने हल्ला फैलाउन नहुने अर्थमन्त्रीको भनाई छ ।
प्रतिक्रिया