केन्द्रीय बैंकद्वारा पाँच महिनामा १ सय २४ खर्ब तरलता प्रशोचन 

केन्द्रीय बैंकद्वारा पाँच महिनामा १ सय २४ खर्ब तरलता प्रशोचन 


काठमाडौं –  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा १ सय २४ खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साे अवधिमा १ सय २४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरेकाे हाे ।

निक्षेप सङ्कलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय १३ खर्ब ३२ अर्ब ४५ करोड गरी कूल एक सय २४ खर्ब ४४ अर्ब ३० करोड तरलता प्रशोचन गरिएको छ । यो कारोबारमा आधारित तरलता प्रशोचन हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायत उपकरणहरूमार्फत खुद तीन सय ८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुई अर्ब २३ करोड खरिद गरी दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ ।

त्यस्तै, यो अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी दुई खर्ब २१ अर्ब एक करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।