झुत्रो नोटको सटही सम्बन्धी के छ व्यवस्था ?


काठमाडाैं – नेपाल राष्ट्र बैंकले झुत्रो नोट सटही सम्बन्धी व्यवस्थाको बारेमा जानकारी दिएको छ । केन्द्रीय बेंकले वित्तीय चेतनाका लागि आज (मंगलबार) एक सूचना जारी गर्दै नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन नोटको जतन गर्न सर्वसाधारणलाई सचेत गराउँदै झुत्रो नोट सटही सम्बन्धी व्यवस्थाको बारेमा जानकारी दिएको हो । 

केन्द्रीय बैंकद्वारा जारी सन्देशमा भनिएको छ,’आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोट कोष सञ्चालन गर्ने वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड) बाट साट्न सकिन्छ ।’

साथै, नोटहरू धेरै मकिएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि झुत्रो नोटको पछाडिको भागमा सोही दरको सिङ्गो नोट बराबरको कागजको टुक्रा टाँसी साट्न सकिने केन्द्रीय बेंकले जानकारी दिएको छ ।

धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जान सक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना गरिँदैन । यस्ता, नोटहरू जफत गरिन्छ र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।