मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढ्दै, एक वर्षमा ३४ लाख थपिए

'मसिंरमा मोबाइल बैंकिङ्ग बाट ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार'


काठमाडौं –सूचना प्रविधिको बढ्दोसँगै पछिल्लो समय डिजिटल कारोबार गर्नेहरूको संख्या बढ्दै गएको छ । पछिल्लो एक वर्षमा मोबाइल बैंकिङ्ग प्रयोग गर्नेको संख्या ३४ लाख ९ हजारले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०८० मसिंर मसान्तसम्म मोबाईल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड २६ लाख २४ हजार ६०७ थियो । २०८१ को मसिंर मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ६० लाख ३४ हजार ३५४ पुगेको छ ।

मोबाइल बैंकिङ्गका प्रयोगकर्ता बढेसँगै यसबाट हुने कारोबार पनि बढदै गएको छ । २०८० मसिंर महिनामा मोबाइल बैंकिङ्गबाट २ खर्ब ६३ अर्ब ४६ करोड बढीको कारोबार भएको थियो । २०८१ मसिंर महिनामा मोबाइल बैंकिङ्ग बाट ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

कार्तिक महिनामा ३ खर्ब ७४ अर्ब ६६ करोड भन्दा धेरै रुपैयाँको कारोबार भएको थियो । वालेट प्रयाेगकर्तकाे संख्या कात्तिकमा २ करोड ४९ लाख १७ हजार ६६ रहेको थियो भने हाल बढेर २ करोड ५६ लाख २ हजार ९० पुगेको छ । गत वर्षको मंसिरमा वालेट प्रयोगकर्ताको संख्या २ करोड ८२ लाख ७ हजार ९९४ रहेको थियो । मंसिरमा वालेटबाट भएको कारोबार ४ अर्ब रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।