पाँच महिनामा १६.५ प्रतिशतले बढ्यो निर्यात

पाँच महिनामा १६.५ प्रतिशतले बढ्यो निर्यात

'कुल वस्तु आयात ३.० प्रतिशतले वढ्याे'


काठमाडाैं – चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको पाँच महिनाको तथ्यांक अनुसार निर्यात ७३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ।

अन्य मुलुकतर्फ भएको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा १.८ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ। पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको भने आयात घटेको छ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ८७ अर्ब ८३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो। यो अवधिमा निर्यात आयात अनुपात ११.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।

तथ्यांकअनुसार भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ७२ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ अर्ब ६६ करोड बराबरको भएको थियो।