नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय भरतपुरमा सर्ने


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ । बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी संघ चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो।

बैंकको केन्द्रीय कार्यालय हाल रत्ननगर नगरपालिकाको वडा नं. १ टाँडीमा रहेको छ । बैंकको कारोबारलाई अझ बढाउने अभिप्रायले केन्द्रीय कार्यालय सार्ने बैंकले जनाएको छ ।

साथै, बैंकको हाकिमचोकमा रहेको शाखामा कार्यालयले पनि स्थानान्तरण भएर सोही भवनबाट बैंकिङ्ग सेवा दिने भएको छ । कार्यालय सार्नका लागि बैंकले भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ ।

०५८ असोज १२ गते देखि सो बैंकले रत्ननगर नगरपालिका १, बकुलहर, टाँडी, चितवनमा केन्द्रीय कार्यालय र टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरू खोली बैंकिङ्ग सेवा प्रदान गर्दै आएको थियो ।