बीमा कम्पनीहरुको घरजग्गा खरिदमा प्राधिकरणले नयाँ मापदण्ड लागू गर्दै, के-के समेटिएला ?

बीमा कम्पनीहरुको घरजग्गा खरिदमा प्राधिकरणले नयाँ मापदण्ड लागू गर्दै, के-के समेटिएला ?


काठमाडौं –  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा खरिद-बिक्रीमा कडाइ गर्ने भएकाे छ । प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई कडाई गर्न नयाँ मापदण्डबीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१ को मस्यौदामा नयाँ मापदण्ड निर्धारण गर्ने भएकाे हाे ।

प्राधिकरणले ‘बीमक स्थिर सम्पत्ति सम्वन्धी निर्देशन, २०८१’ को मस्यौदा तयार पारेको छ । कम्पनीहरुको स्थिर सम्पत्ति खरिदबिक्री, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन सो मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ ।

मस्यौदा अनुसार अब बीमा कम्पनीहरुले घरजग्गा खरिद, निर्माण गर्न भन्दा पहिले प्राधिकरणबाट सैदान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ । तर, घरजग्गा बाहेकका अन्य स्थिर सम्पत्ति खरिद, निर्माण गर्दा भने स्वीकृति लिन नपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

यस्तै, घरजग्गा खरिद गर्दा प्रयोजन भने खुलाउने पर्नेछ । बीमा कम्पनीले घरजग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा कुन प्रयोजनका लागि हो त्यो स्पष्ट खुलाउनुपर्ने छ । कम्पनीहरुले कार्यालय, व्यावसायिक, कार्यालय तथा व्यावसायिक प्रयोजन खुलाउने पर्नेछ ।

यसैगरी बीमा कम्पनीहरुले आफ्नो स्वामित्वमा रहेको वा स्वप्रयोजनमा प्रयोग भएको घरजग्गा बिक्री गर्दा तोकिएबमोजिम गणना गरिएको नेटवर्थको १० प्रतिशत वा सोभन्दा बढी हुन गएमा माग गरिएको विवरण तथा कागजातहरु संलग्न गरी प्राधिकरणसमक्ष स्वीकृतिका लागि निवेदन दिन सक्ने प्रावधान प्रस्ताव पनि गरिएकाे छ ।