काठमाडौं – नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजत पत्र (लाइसेन्स ) खारेज गरेको छ। राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार तीन कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो।
केन्द्रीय बैंकले लाइसेन्स खारेज गरेकाे रेमिट्यान्स कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) रहेका छन् ।
केन्द्रीय बैंकले यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रूपमा जानकारी गराउन व्यक्ति वा सङ्घसंस्थालाई आग्रह गरेको छ । यो अवधिभित्र कुनै दाबी नआएमा कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुने पनि राष्ट्र बैंकले बताएकाे छ ।
राष्ट्र बैंकले दाबी गर्दा बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको पनि स्पष्ट पारेको छ। केन्द्रीय बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता, र नियमनको पालना नभएमा कडा कदम चाल्ने गरेको बताउँदै यस कदमले रेमिट्यान्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरेको छ ।
प्रतिक्रिया