काठमाडौं – केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै चेक भुक्तानीसम्बन्धी व्यवस्थाकाे बारेमा जानकारी दिएकाे छ । चेक, बिल, पे- अर्डरलगायत कुनै पनि वित्तीय उपकरणका माध्यमले आफ्नो खातामा रकम जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले त्यस्तो उपकरणमा उल्लिखित सम्पूर्ण रकम नै सम्बन्धित ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।
त्यस्ता वित्तीय उपकरणको कारोबारमा कुनै शुल्क लाग्ने भएमा बैंक तथा वित्तीय संस्थाले सोसम्बन्धी जानकारी ग्राहकलाई अग्रिम रुपमा गराई ग्राहकको खातामा छुट्टै रुपमा लिनुपर्ने व्यवस्था रहेकाे छ ।
यसका साथै कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफ्नो कारोबारका क्रममा प्राप्त चेकहरु आफ्नो खातामा जम्मा गर्दा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खातामा मौज्दात अपर्याप्त भई रकम जम्मा हुन नसकेको अवस्थामा चेक प्रस्तुत गर्ने ग्राहकको खाताबाट कुनै पनि शुल्क वा रकम लिन नपाइने प्रावधान पनि रहेको छ।
प्रतिक्रिया