डलरको भाउ हालसम्मकै उच्च, फाइदा भन्दा नोक्सान बढी

डलरको भाउ हालसम्मकै उच्च, फाइदा भन्दा नोक्सान बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको भाउ हालसम्मकै सर्वाधिक महङ्गो हुँदा नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गते बुधबार डलरको भाउ १२७ रुपैयाँ ३० पैसा पुगेको छ। यो हालसम्मकै उच्च हो । यसअघि गत सोमबार एक अमेरिकी डलरको विनिमय दर १२६.७८ रुपैयाँ पुगेको थियो ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर नयाँ उचाइमा पुगेको छ । विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढेको हो । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ।

डलर महङ्गो हुँदा के असर हुन्छ ?

नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।

डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ।

नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ । यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।

नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ । बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोग्य वस्तुको मूल्यमा देखिन थाल्छ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। शैक्षिक डिग्री हासिँल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।