प्रधानमन्त्रीले मागे अर्थमन्त्रीको राजीनामा

प्रधानमन्त्रीले मागे अर्थमन्त्रीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् ।

सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन् ।

कर प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सिसिटिभि फुटेज दिन अस्वीकार गरेपछि प्रतिपक्षी दलका साथै सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समेत छानबिनमा सहयोग गर्न अर्थमन्त्रीले राजिनामा दिनु पर्ने बताएका थिए ।

अनाधिकृत व्यक्तिले बजेट बनाएको आरोप लागेपछि नेकपा एमालेले संसदीय छानबिन हुनु पर्ने माग गर्दै आएको थियो ।

अर्थमन्त्रालयले सिसिटिभि फुटेज नदिएपछि अनाधिकृत व्यक्तिबाट बजेट बनाएको आरोप पुष्टी हुने आधार भएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीको चौतफी आलोचना भइरहेको छ ।

गठबन्धनका नाममा अहिलेसम्म आलोचना खेपेर बस्न तयार भएका प्रधानमन्त्री देउवा अब भने आलोचना खेप्न सक्ने अवस्थामा नपुगेको स्रोतको भनाइ छ ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासका भएको बैठकमा समेत माओवादीका नेताहरुले अर्थमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नु पर्ने माग गरेका थिए ।

गठबन्धन सरकारले भएकाले सीधै अर्थमन्त्रीलाई हटाउँदा नकारात्मक सन्देश जाने सम्भावना भएकाले प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न भनेका हुन् ।

गठबन्धनको सरकार भएकाले अर्थमन्त्रीको राजीनामा सम्बन्धमा प्रधानमन्त्री देउवाले पनि माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेका छन् । प्रचण्डको ग्रिन सिग्नलपछि अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा मागेका हुन् ।

नैतिकता भएको भए अर्थमन्त्री शर्मा आफूले निलम्बन गरेका राष्ट्र बैंकका गभर्नरलाई सर्बोच्च अदालतले पुनर्वहाली गरेपछि नै राजीनामा दिनुपर्ने थियो ।