असारे विकासले तरलता सहज हुँदै, बैंकहरुमा दैनिक दश अर्ब बढी थपिँदै निक्षेप

असारे विकासले तरलता सहज हुँदै, बैंकहरुमा दैनिक दश अर्ब बढी थपिँदै निक्षेप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चालु आर्थिक वर्ष सकिन दुई साताभन्दा कम समय बाँकी रहँदा सरकारी खर्च बढेका कारण बैंकिङ्ग प्रणालीमा दैनिक दश अर्ब बढीले निक्षेप थपिन थालेको छ ।

एकातिर सरकारी भुक्तानीको रकम प्रणालीमा थप भएको छ भने अर्कोतर्फ बैंकहरु कर्जा असुलीमा लागेका छन् । यसले बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ ।

सरकारले पनि यस आर्थिक वर्षमा भएको विकास निर्माणको भुक्तानी तीव्र रुपमा बढाएको छ । यसले पनि बैंकिङ्ग प्रणालीमा आकर्षक रुपमा निक्षेप वृद्धि देखिन थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असार १९ गते आइतबार मात्रै बैंकिङ्ग प्रणालीमा ९ अर्बले निक्षेप बढेको छ । यसअघि असार १७ गते शुक्रबार १५ अर्बले निक्षेप बढेको थियो । नेपाल बैंकर्स संघका अनुसार असार तेस्रो सातामा वाणिज्य बैंकमा ३४ अर्ब रुपैयाँले निक्षेप बढेको छ । यस अवधिमा २ अर्बले मात्र कर्जा लगानी बढेको छ ।

राष्ट्र बैंकका अनुसार असार १९ गते आइतबार प्रणालीमा रहेको कुल निक्षेप ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको हो । शुक्रबार ५० खर्ब २० अर्ब रहेको थियो । प्रणालीमा कुल ९ अर्बले थपिँदा वाणिज्य बैंकहरुमा मात्रै आइतबार ८ अर्ब रुपैयाँले निक्षेप थपिएको छ ।

सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १९ गते आइतबार मात्रै १ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । सरकारी खर्च बढ्दा बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८८.६३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । असार १७ गते ८८.८१ प्रतिशत रहेको बैंकहरुको सिडी रेसियो असार १९ गते एकैदिन थप ०.१८ प्रतिशत बिन्दुले तल आएको हो । यसले बैंकहरुलाई असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन सहज हुने भएको छ ।

आर्थिक वर्षको समाप्ती नजिक पुगेका कारण अहिलेको समयमा बैंकहरुले अत्यावश्यक बाहेक अन्य कुनैपनि किसिमका कर्जा लगानी गर्दैनन् । पहिला दिएको ऋण असुलीमा नै बैंकहरुको समय खर्च हुने समयमा भएकाले पनि बैंकहरुको सिडी रेसियोमा सुधार आएको हो । केन्द्रीय बैंकले असार मसान्तसम्मभित्र सबै बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन यसअघि नै निर्देशन दिएको थियो । प्रणालीमा तरलता केही सहज हुँदै गएपछि बैंकहरुलाई सो अनुपात कायम गर्न पनि सहज हुने देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २० गते एकैदिन २ अर्ब ५ करोड ५७ लाख खर्च भएको तथ्याङ्क छ । यसदिनसम्म कुल पुँजीगत खर्च विनियोजित बजेटको ४१.६२ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । असार १९ गते एकैदिन १ अर्ब २६ करोड ६० लाख रुपैयाँ, १८ गते ५ करोड २५ लाख, १७ गते १ अर्ब २५ करोड ४७ लाख, १६ गते १ अर्ब ६३ करोड ३ लाख र असार १५ गते ६९ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

चालु आर्थिक वर्षको अन्तिम (क्लोजिङ्ग) भएका कारण अहिले बैंकहरुबाट कर्जा प्रवाह भएको छैन भने बैंकहरु असुलीमा केन्द्रित हुँदा प्रवाहित कर्जाको आकार पनि साँघुरिँदै गएको छ । असार १९ गते एकैदिन बैंकिङ्ग प्रणालीमा प्रवाह भएको कर्जा २ अर्बले घटेको छ । असार १७ गते पनि ३ अर्ब रुपैयाँले घटेको थियो । असुलीबाट कर्जा घट्दो रहेको र निक्षेप बढ्दो क्रममा रहेका कारणले पनि बैंकहरुलाई सिडी रेसियो कायम गर्न सहज भएको हो ।

असार १७ गते एकैदिन बैंकिङ्ग प्रणालीमा १५ अर्ब रुपैयाँले निक्षेप बढेर ५० खर्ब २० अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्याङ्क छ । अघिल्लो दिन १६ गते निक्षेप संकलन ५० खर्ब ५ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले बढ्दा एक सातामै थपियो ३४ अर्ब निक्षेप

चालु आर्थिक वर्षको असार महिनाको सुरुवात देखि नै बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेको छ । बैंकिङ प्रणालीमा रहेको निक्षेपमध्ये असार १७ गतेसम्ममा वाणिज्य बैंकहरुमा ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको बैंकर्स संघको तथ्याङ्क छ ।

असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब निक्षेप रहेकोमा पछिल्लो साता मात्र वाणिज्य बैंकमा ३४ अर्बले निक्षेप संकलन बढेको हो । यसअघि असार १० गते अघिल्लो साताभन्दा ४ अर्बले निक्षेप बढेको हो । असार ३ गते वाणिजय बैंकहरुमा ४३ खर्ब ९४ अर्ब निक्षेप सञ्चित रहेको थियो ।

पछिल्लो साता कर्जा लगानी २ अर्बले बढेको छ । वाणिज्य बैंकहरुमा असार १० गते ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गते आइपुग्दा ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको हो ।

\"\"