काठमाडौं – सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा हालसालै नियुक्त भएका देवराज ढुंगानाकाे काम कारबाहीलाई लिएर यति बेला निकै चर्चा परिचर्चा भइरहेको छ । मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै उनको कार्यकाल र जिम्मेवारीलाई लिएर सुरक्षण मुद्रण सामग्रीको आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उनको कार्यकालमा केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्ने, अन्तःशुल्क, स्मार्ट कार्ड, लालपुर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने विश्वास लिएको छ । सरकारलाई आवश्यक पर्ने सरकारी छपाई सम्बन्धी सम्पूर्ण कामहरू जस्तै: हुलाक टिकट, अन्तःशुल्क स्टिकर, राष्ट्रिय परिचय पत्रदेखि सवारी चालक अनुमति पत्रलगायत कागजातहरू छपाइको व्यवस्थापनमा ढुंगानाकाे महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ ।
हाल पासपोर्ट, बैंक नोट, बैंक कार्ड, अन्तःशुल्क स्टिकर लगायत सुरक्षण मुद्रण गर्न विदेशी संस्थामा भर पर्नुपर्ने बाध्यता रहेको छ। करिब २ वर्षदेखि केन्द्रको कार्यकारी निर्देशक खाली रहेको थियो।
तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध २०८० वैशाख ३ गते भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उक्त पद रिक्त थियो।केन्द्रको कार्यकारी निर्देशक पदमा पूर्व सचिव डा. दामोदर रेग्मी र रेडियो नेपालका पूर्वकार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए।
प्रतिक्रिया