मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन


काठमाडौं – अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रूपैयाँ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रूपैयाँ बराबर सङ्कलन भएको हो ।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ रूपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ।

काठमाडौं उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार चार सय २५ रूपैयाँ, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५ रूपैयाँ, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९ रूपैयाँ, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३ रूपैयाँ, टोखाले सात करोड १२ लाख ४५ हजार सात सय ६५ रूपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१ रूपैयाँ, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ रूपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९० रूपैयाँ, रजिस्ट्रेशन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रूपैयाँ बराबर संकलन गरेको छ । त्यस्तै,एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ रूपैयाँ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।