काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नियुक्त भएका सन्तोषनारायण श्रेष्ठले सपथग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार सेबोन अध्यक्षमा निर्वाचित श्रेष्ठले आज अर्थमन्त्रालयमा सपथग्रहण गरेका हुन् ।
उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनियताको सपथ गराए । सरकारले ११ महिनादेखि खाली रहेको बोर्डको अध्यक्षमा सिफारिसमा परेका ३ जनामध्येबाट श्रेष्ठलाई नियुक्त गरेको थियो । बोर्डको अध्यक्षकारुपमा श्रेष्ठ आएसँगै नयाँ स्टक एक्चेञ्जको लाइसेन्स वितरणको बाटो खुलेको छ ।
योजना आयोगका उपाध्यक्ष डा. शिवहरी अधिकारीको नेतृत्व सिफारिस कमिटिले अध्यक्ष पदमा श्रेष्ठसँगै डा. नवराज अधिकारी र मुक्ती श्रेष्ठलाई सिफारिस गरेको थियो । यी तीन जनामध्येबाट ओली सरकारले श्रेष्ठलाई रोजेको हो ।
बोर्डमा अध्यक्ष नियुक्त भएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकरात्मक प्रभाव समेत परेको छ । आज परिसूचक ३३ अंकले बढेर २७ सय अंकको बिन्दुभन्दा माथि पुगेको छ ।
सपथ गराउनेक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुल्ला रुपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्याहरुलाई संस्थागतरुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरुलाई चिर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरे । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरुलाई अवसरका रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया