काठमाडौं – आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । अर्थमन्त्रालयको सिफारिस टोलीको सिफारिस बमोजिम सर्टलिस्टको ३ जनाको सूचीमा परेका श्रेष्ठलाई मन्त्रीपरिषद्को बैठकले अध्यक्षकारुपमा नियुक्त गरेको हो ।
११ महिना अघिदेखि खाली रहेको बोर्डको अध्यक्षका लागि हिजो (आइतबार) अन्तिम अन्तरवार्ता भएको थियो । यसअघि पटकपटक अन्तरवार्तामा छुटेका सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग आइतबार अन्तरवार्ता लिइएको थियो ।
यससँगै ऐनबमोजम अध्यक्षमा ३ जनाको नाफा सिफारिस गरेर मन्त्रीपरिषद् बैठकमा पठाउन योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी नेतृत्वको सिफारिस कमिटिलाई बाटो खुलेको थियो । आइतबारको अन्तरवार्ता सकिएसँगै यसअधि नै अन्तरवार्ता सकिएका सन्तोषनारायण श्रेष्ठ र मुक्ती श्रेष्ठसँगै डा. अधिकारीको नाम राखेर सिफारिस गरिएको थियो ।
सोही सिफारिस बमोजिम मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको नेतृत्वमा चयन गरेको हो । श्रेष्ठलाई अध्यक्ष बनाउनका लागि दिपक भट्ट नेतृत्वको कर्पोट समूह निरन्तर ‘लविइङ’मा थियो । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आफु निकटकालाई दिलाउने लक्ष्यसहित यो समूह सुरुदेखि नै श्रेष्ठलाई अध्यक्ष बनाउन लागि परेको थियो ।
सोहीबमोजिम मन्त्रीपरिषद्को बैठले श्रेष्ठलाई नै अध्यक्षमा नियुक्त गरेको हो ।
प्रतिक्रिया