‘कन्ट्री रेटिङ’ मा नेपालले पायो ‘बीबी माइनस’, विदेशी ऋणको बोझ, जलविद्युतमा प्रगति

‘कन्ट्री रेटिङ’ मा नेपालले पायो ‘बीबी माइनस’, विदेशी ऋणको बोझ, जलविद्युतमा प्रगति


काठमाडौं – नेपाल सरकार विदेशी ऋणको अत्यधिक बोझमा परेको भन्दै फिच रेटिङ्सले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ । नेपालको रेटिङ रिपोर्ट सार्वजनिक गर्दै फिच रेटिङ्सले दीर्घकालीन विदेशी मुद्रा ‘इस्युअर डिफल्ड रेटिङ’ (आईडीआर) ‘बीबी माइनस’को रेटिङ दिएको हो ।

फिच रेटिङ्सले नेपालले यो रेटिङ पाउनुको मुख्य कारण सरकारमाथि बढिरहेको विदेशी ऋणको बोझलाई मुख्य आधार मानेको छ । यस्तै, जलविद्युत क्षेत्रमा नेपालले हासिल गरिरहेको उत्कृष्ट उपलब्धि समेत रेटिङ्सको मुख्य प्राथमिकता रहेको बताइएको छ । जलविद्युतमा नेपालले गरेको प्रगतिले रेटिङ रिपोर्ट झनै बिग्रनबाट जोगिएको देखिएको छ ।

जलविद्युत क्षेत्रले अविकसित अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई डोर्‍याइरहेको उल्लेख गरिएको छ । यस्तै, प्राकृतिक विपत्ति लगायतले नेपालको अर्थतन्त्रमा धक्का पुर्‍याइरहेको फिचको भनाई छ । यसबाहेक, नेपालको प्रतिव्यक्ति आम्दानी न्यून रहेपनि सन् २००६ मा रोकिएको माओवादीको शसस्त्र युद्धपछि भने सुधारिँदो अवस्थामा रहेको बताइएको छ ।

नेपाल सरकारमाथि परेको सार्वजनिक ऋणको स्थिति झनै बढ्नुले बेबी माइनस रेटिङमा सहयोगी भूमिका खेलेको बताइएको छ । सन् २०२४ को जुलाईसम्म नेपालको सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी)को ४४ प्रतिशतसम्म पुगेको छ । यद्यपि, यो बेबी माइनस रेटिङका लागि हुनुपर्ने अधिकतम ५५ प्रतिशत नकटेकाले सामान्य मानिएको छ ।

यो ऋणको सावा र ब्याज तिर्नका लागि सन् २०२४ मा नेपाल सरकारले संकलन गरेको राजश्वको ८ प्रतिशत छुट्याउनु परेको विषयलाई समेत ‘हाइलाइट’ गरिएको छ । कूल सार्वजनिक ऋणको ४० प्रतिशत ऋण आन्तरिक क्षेत्रबाट उठाइएको छ ।