राष्ट्र बैंकको आँखामा कस्तो छ देशको अर्थतन्त्र ?

राष्ट्र बैंकको आँखामा कस्तो छ देशको अर्थतन्त्र ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । देशको समग्र अर्थतन्त्रको स्थिती र यसको चूनौती लगायतका विषय समेटेर राष्ट्र बैंकले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा केन्द्रीय बैंकले विश्व आर्थिक वृद्धिदर सन् २०२४/२०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण रहेको उल्लेख गरेको छ । यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको विषय समेत उल्लेख गरेको छ ।

यस्तो छ प्रतिवेदन

सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ ।

समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै, न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत थियो । आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा ३ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २ खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च १४ खर्ब ८ अर्ब २ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरू मार्फत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल ८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा १ अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.६२ प्रतिशत रहेको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ ।

यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजार ५३० रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म २ खर्ब ५७ अर्ब ७२ करोड कर्जा र १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको संख्या ९४ हजार ४ सय ७७ रहेको छ ।