अमेरिकामा ट्रम्पको पुनरोदयसँगै निरन्तर घट्दै सुनको मूल्य, १५ दिनमै घट्यो १० हजार

अमेरिकामा ट्रम्पको पुनरोदयसँगै निरन्तर घट्दै सुनको मूल्य, १५ दिनमै घट्यो १० हजार


काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकनका डोनाल्ड ट्रम्प निर्वाचित भएयता सुनचाँदीको मूल्य घट्न थालेको छ । डोनाल्ड ट्रम्प चुनावबाट ४७औं राष्ट्रपतिमा निर्वाचित भएपछि लगातार सुनको मूल्य घट्दै छ । खासगरी, अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बनेर सुनको मूल्य घट्न थालेपछि नेपाली बजारमा पनि यसको प्रभाव परेको हो ।

कात्तिक १४ गतेसम्म सुनको मूल्य निरन्तर उकालो लागेको थियो । त्यस अवधिमा सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ पुगिसकेको थियो । तर, त्यसयता निरन्तर घट्दै सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँसम्म आइपुग्यो । हिजो प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुनको मूल्य आज १०० रुपैयाँले बढेर कारोबार सुरु भएको छ ।

अहिलेसम्मकै उच्च बिन्दुमा सुनको मूल्य पुगेयता घट्न थालेपछि प्रतितोला साढे १० हजार रुपैयाँले घटिसकेको छ । रुस र युक्रेनबीच जारी युद्ध र खाडीमा बढ्दो तनाबकाबीचमा विश्वभरका लगानीकर्ताले सुनमा लगानी बढाएका थिए । फलस्वरुपः रुस युक्रेनबीच युद्ध सुरु हुनुभन्दा अघि तोलामा ९० हजार हाराहारी रहेको सुनको मूल्य बढेर १ लाख ७० हजारभन्दा माथि पुगेको थियो ।

तर, विश्वकै ठूलो अर्थतन्त्रकारुपमा रहेको अमेरिकामा डोनाल्ड ट्रम्प शक्तिशाली राष्ट्रपति बनेयता सुन घट्न थालेको हो । विश्वका अन्य मुलुकको मुद्राको तुलनामा डलर बलियो बन्न थालेपछि सबैको लगानी यतातर्फ नै खनिएको बताइन्छ । यहीकारण, डलर बढ्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको विभिन्न समाचार संस्थाहरुले लेखेका छन् ।

यस्तै, कात्तिक १४ गते तोलामा २१ सय २० रुपैयाँ रहेको चाँदी पनि घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा आइपुगेको छ ।