काठमाडौं – धितोपत्र बजारका ब्रोकर्स कम्पनीका दुई साझा संस्था आपसमा गाभिएका छन् । आज भएको एक कार्यक्रममार्फत दुई वटा संस्था मिलेर एउटै संस्था अस्तित्वमा राख्ने सम्झौता भएको हो । यससँगै, ३१ वर्ष लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल सञ्चालनमा रहने भएको हो ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएन नेपालबीच एकीकरण भएर धितोपत्र दलालको एउटा मात्रै छाता संगठन बनाउने सहमती भएको दुई संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साझा व्यावसायिक संघ निर्माण गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोस मैनालीको संयोजकत्वमा सचिव सुयोग अधिकारी र कोषाध्यक्ष मदन पौडेल सम्मिलित तीन सदस्य खटेका थिए ।
यस्तै, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमन कुमार मल्ल तथा सदस्य सन्दिप विक्रम राणा सहितको तीन सदस्य गरी कूल ६ सदस्यीय टोलीबीच विभिन्न चरणमा छलफल भई एकीकरणको सहमती भएको बताइएको छ । एकीकरणको सहमती भएसँगै आजबाटै दुई एसोसिएसन एक भएको घोषणा गर्दै दुई एसोसिएसनका अध्यक्षहरुले हस्ताक्षर गरे ।
एकीकरणपछि स्टक ब्रोकर्स एसोसिएसन मात्रै अस्तित्वमा रहनेछ । यस्तै, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीहरुलाई स्टक बोकर्स एसोसिएसन अफ नेपालमा एकमुष्टरुपमा सदस्यता प्रदान गर्ने सम्झौता भएको छ । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अङ्गको रूपमा अगाडि बढाइने सम्झौता समेत भएको छ ।
प्रतिक्रिया