काठमाडौं – सिंगापुरमा जारी २०औँ अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा नेपालबाट करिब २५ जना बीमाकर्मी सहभागी बनेका छन्। ३ नोभेम्बरबाट सुरु भएको अन्तर्राष्ट्रिय पुर्नबीमा सम्मेलनमा नेपालबाट बीमा क्षेत्रमा आवद्ध २५ जना सहभागी भएका हुन् ।
७ नोभेम्बर अर्थात् भाेलिसम्म चल्ने सम्मेलनमा विश्वभरका पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन बीमा कम्पनीको प्रतिनिधिहरू, सर्भेयरहरु, आईटी कम्पनीहरूको सहभागिता रहेको छ । विश्वभरका बीमा कम्पनीहरूका अधिकांश प्रतिनिधिहरूकाे सहभागिता रहेकाे सम्मेलनमा पुनर्बीमाको भविष्य, जोखिम र भावी रणनीतिका सम्बन्धमा गम्भिर विचार विमर्श भइरहेको छ ।
प्रत्येक वर्ष हुने यो पुनर्बीमा सम्मेलनमा बीमाको आवश्यक्ता, पुनर्बीमाको चुनौती, बीमा क्षेत्रमा आइटीको समावेशी, सर्भेयरहरुको महत्वको विषयमा चर्चा गरिने आयोजकले जनाएको छ । पुनर्बीमा व्यवसाय नै जोखिम हस्तान्तरण भएकोले कम्पनीहरूमा जोखिम विश्लेषण क्षमता अभिवृद्धि माथि छलफल भएको छ ।
नेपालबाट सहभागी भएका प्रतिनिधिहरूको अनुसार यो सम्मेलनको सहायताले नेपालको पनि बीमा क्षेत्र, पुनर्बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्नेछ । सम्मेलनमा हुने विभिन्न सत्रहरुको छलफल जनसम्पर्क विस्तारका लागि नेपाली बीमाकर्मीहरुलाई लाभदायक भएको प्रतिक्रिया सहभागीहरूले जनाएका छन् ।
सिङ्गापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन विश्वस्तरीय मानिन्छ । उक्त सम्मेलनमा विश्वका ७० भन्दा बढी देशका ४०० भन्दा बढि कम्पनीमार्फत ३५०० भन्दा बढिको सहभागीता रहेकाे छ ।
प्रतिक्रिया