महोत्तरी – नेपाल भारत सिमा क्षेत्रमा भारतीय मुद्रा (भारु) को भाउ महँगिएको छ । केन्द्रीयस्तरमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर तोकिएपनि सिमा क्षेत्रमा भारुको भाउ महँगिएको हो । चाडबाडको समयमा सिमा क्षेत्रमा भारुको माग ह्वात्तै बढ्दा मूल्य महँगिएको हो ।
तिहारको किनमेलका लागि नेपालीहरु सिमा पारिका बजामा जाने गर्छन् । जसकारण, नेपालीसँग भारुको मौज्दात न्यून भएसँगै १०० भारुका लागि १६६ रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको हो । जबकी, केन्द्रीयस्तरमा १०० भारुको विनिमयदर १६० रुपैयाँ हो ।
नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताए ।
महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताए ।
उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली एक सय ६६ रुपैयाँ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताए । जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली एक हजारको सरदर भारु छ सय रुपैयाँ मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताए ।
त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली एक हजार रुपैयाँको सरदर भारु छ सयमा कारोबार गरेको बताए । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि एक सय ६६ रुपैयाँ तिर्नुपरेको बताए ।
त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताए । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि एक सय ६६ रुपैयाँ लिएका छन् भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली एक सय ६६ रुपैयाँ लिने गरेका छन् ।






About Us
प्रतिक्रिया