विदुर नगरपालिकाद्वारा नगरवासीलाई सहुलियत शुल्कमा फूल

विदुर नगरपालिकाद्वारा नगरवासीलाई सहुलियत शुल्कमा फूल


नुवाकोट – विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले भने, ‘भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।’ मखमली फूल प्रतिकिलो तीन सय ५० रुपैयाँ र सयपत्री प्रतिकिलो दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।

उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिए । बजारमा हाल सयपत्री फूल प्रतिकिलो दुई सय ५० रुपैयाँ र मखमली चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।